रौतहट । रौतहट जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको आरोपमा गरुडा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिकाका एक युवक पनि समावेश छन् । प्रहरीले उनीहरूले विभिन्न स्थानबाट तीन वटा मोटरसाइकल चोरी गरेको जानकारी दिएको छ ।
बुधबार सार्वजनिक गरिएका अभियुक्तहरूमा गढीमाई नगरपालिका ६ का धिरज साह, कटहरिया नगरपालिका ९ डुमरिया टोलका मंदित यादव र सर्लाही ईश्वरपुर नगरपालिका १३ का श्याम महतो रहेका छन् ।
प्रहरीका अनुसार, धिरजले असोज २१ गते गढीमाई ६ बखरीटोलका नितेश साहको प्रदेश नम्बर २०३–०११ प २६३१ नम्बरको स्प्लेन्डर मोटरसाइकल चोरी गरेका थिए । मंदित यादवले असोज २२ गते माधवनारायण नगरपालिका ६ माधोपुर टोलका श्यामबाबु यादवको बीआर ३० एक्स ६५५८ नम्बरको भारतीय अपाचे मोटरसाइकल चोरी गरेका थिए ।
श्याम महतोले असोज २६ गते यमुनामाई गाउँपालिका १ सुकदेवचोकका अम्बिकाप्रसाद यादवको बीआर ३० एएम १६४८ नम्बरको भारतीय पल्सर मोटरसाइकल चोरी गरेको आरोप छ । प्रहरीले तीनै जनाले अन्य स्थानबाट पनि मोटरसाइकल चोरी गरेको हुन सक्ने आशंका गर्दै थप अनुसन्धान गरिरहेको जनाएको छ ।




