रौतहट । रौतहटको कटहरिया बजारमा भारतीय फिल्मी शैलीमा ५ किलोमिटर टाढाको गाउँबाट दर्जन बढी मोटरसाइकलमा तीन तीन जना लाठी भाठासहित आएर स्थानिय राकेश गिरी माथि सांघातिक आक्रमण गर्ने गिरोहलाई नेताहरुले बचाउने गरेको प्रयासमा असफल भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ५ जनालाई कारवाहीको दायरामा ल्याईएको छ ।
गत २७ गते आइतबार बिहान ९ बजे ३५ वर्षीय गिरी कटहरिया नगरपालिका भवन छेउको चिया पसलमा बसिरहेको रेकी गरेर वडा ८ पिप्रा पोखरिया गाउँबाट झण्डै तीन दर्जनको संख्यामा आएका मानिसहरूले सांघातिक आक्रमण गरेका थिए । सामान्य कुराको निहु पारेर अन्य गाउँबाट एकै पटक त्यत्रो ठूलो संख्यामा मानिसहरू आएर ज्यानै जाने गरी आक्रमण गर्नु कटहरिया बजारको इतिहासमा पहिलो घटना भएको स्थानीय व्यापारीहरूले बताएका छन् ।
कटहरिया ८ का वडा अध्यक्ष समिश विक्रम साहको योजनामा दर्जनौंको संख्यामा आएका आक्रमणकारीहरू एक्कासी गिरी माथि दुङ्गाको बर्सात गरेको पीडित परिवारले बताएका छन् । ढुङ्गा प्रहारबाट गिरीको टाउको फुटेपछि आक्रमणकारीहरुले सँगै ल्याएको बाँसको लाठी भाठा, दाउराले तल खुटादेखि टाउकोसम्म झण्डै १० मिनेट प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
गिरीलाई मर्ने गरी अन्धाधुन्ध कुटपिट गरिरहेको क्रममा छुट्याउन गाएकी चिया पसलकी साउनीलाई समेत उनीहरूले मरासन्न हुने गरी कुटपिट गरेका थिए । यसरी आक्रमणकारीको अन्यायपूर्ण ब्यवहार हेरेर कटहरियाका युवाहरुको समुहले होहल्ला गरेपछि उनीहरु त्यहाँबाट भागेका थिए ।
सांघातिक आक्रमणबाट गिरीको टाउको लगायत शरीरको प्रायः सम्पूर्ण ठाउँमा गहिरो चोट पटक लागेर वीरगंज स्थित एउटा निजी अस्पतालमा उपचारपछि हिजो साँझ घर आएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई शिवशंकर शर्माले बताएका छन् ।
त्यसैगरी चिया पसल साउनी ६० वर्षिया प्रेमज्योति साहको शरीरको धेरै ठाउँमा गहिरो चोट पटक लागेको र उपचारपछि उनी पनि घर फर्किसकेका सई शर्माले जानकारी दिए । घटनापछि स्थानीयको सहयोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पिप्रापोखरिया गाउँका ७२ वर्षीय तेजिलाल यादव, ३६ वर्षीय सिकिन्दर यादव र २८ वर्षीय परशुराम बिक्रम साहलाई घटनास्थलको केही दूरीबाट पक्राउ गरिएको थियो । त्यस्तै तेजिलालको छोरा ३५ वर्षीय जितेन्द्र यादवलाई घटनास्थलबाट २ किलोमिटर टाढा कटहरिया गाउँ छेउको बाँसको रुखमाथि चढेर लुकि बसेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो ।
पक्राउ परेका चारै जना हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको डिएसपि राजन कार्कीले बताए । चार जना मध्ये दुई जनालाई पनि केही चोट पटक लागेको तथा उनीहरूको उपचार भइरहेको डिएसपी कार्कीले जानकारी दिए ।
कटहरिया बजारमा दुर्गा पूजाको अवसरमा आयोजित मेलामा शनिबार राती नाच भइरहेको थियो । सोही क्रममा वडा अध्यक्ष साहका काका प्रताप साहका छोरा पर्शु विक्रम साह र जितेन्द्र यादव अत्यधिक मदिरा सेवन गरी पटक पटक नाचको स्टेजमा चढ्न खोज्दा त्यहाँ रहेका मेला समितिका युवाहरुसँगै पीडित गिरीले उनीहरुलाई सामान्य हातपात गरी भगाएको प्रत्यक्षदर्शी विनोद साहले बताए ।
सोही विषयमा वडा अध्यक्ष साह तथा उनका मानिसहरू कानुनी उपचार खोज्नुको साटो जंगली शैलीमा राति नै आएर गिरी माथि आक्रमण गर्न खोज्दा प्रहरीले उनीहरुलाई धपाएका थिए । तर पुनः भोलिपल्ट आएर गिरीमाथि पुनः आक्रमण गरेको थियो ।
वडा ५ का अध्यक्ष सर्फलाल प्रसादले केही जनप्रतिनिधि कटहरिया बजार माथि आफ्नो बर्चस्व कायम राख्न तथा स्थानिय ब्यापारी तथा विभिन्न दलका कार्यकर्तालाई डराउन वडा अध्यक्षलाई अघि सारेर षडयन्त्र पूर्ण तरिकाले यो दुःखद घटना गराएको दाबी गरेका छन् ।
स्थानिय ब्यापारी तथा मेयर प्रत्याशी योगेन्द्र साहले सामान्य घटनालाई अतिरञ्जित बनाएर ज्यानै लिने गरी भएको सांघातिक हमलामा संलग्न माथि कडा कार्वाही हुनुपर्ने माग गरेका छन् ।
यसैबीच रौतहट स्थित नेपाली कांग्रेसका एकजना प्रतिनिधिसभा सदस्य, जसपाका एक जना वरिष्ठ नेता, एक जना मेयर लगायत केही नेताहरुले आक्रमणकारीलाई बचाउन प्रहरी प्रशासनसँगै पीडित माथि दवाब दिएका थिए ।
प्रहरी र पीडितलाई कानुनी कारवाही तर्फ नगएर छलफल गरी दण्ड जरिवाना गरेर समस्या समाधान गरी दोषीलाई जोगाउन नेताहरुले चलखेल गरेको पीडित राकेश गिरीकी बहिनी मञ्जु गिरीले दुखेसो पोखेकी छिन् । यसैबीच पीडित राकेश गिरीले आफू छलफल र पञ्चायतमा नजाने बरु कानुनी कारवाहीको लागि मंगलबार ईलाका प्रहरी कार्यालय गरुडामा लिखित जाहेरी दिएकाले प्रहरी प्रशासनले आफूलाई न्याय दिनमा विश्वस्त रहेको बताएका छन् ।
जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा आक्रमणमा संलग्न ५ जना माथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिएका छन् । घटनामा संलग्न केही मानिस नियन्त्रणमा रहेको तथा फरारको खोजी भइरहेको डिएसपी कार्कीले बताए ।




