महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ३ पचाईन टोलमा आज करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ भने दुई किशोरी घाइते भएका छन् । मृत्यु हुनेमा १४ वर्षीया करिनाकुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।
आज बिहान करिनाकुमारी दुई दिदीबहिनीसँग खेतमा धान काट्न जाँदै गर्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । खेतमा जङ्गली जनावरबाट बाली जोगाउन स्थानीय विनोद महतोले राखेको नाङ्गो तारमा उनीहरूलाई करेन्ट लागेको थियो ।
करिनालाई बचाउने प्रयासमा उनकी दिदी १८ वर्षीया राधाकुमारी र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन् । उनीहरूलाई गौशालास्थित एक निजी क्लिनिकमा उपचार गरिएको र उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
करेन्ट प्रवाह गर्ने विनोद महतो भने घटनापछि सम्पर्कविहीन छन् । मृतक करिनाको शव परीक्षणका लागि बर्दिबास अस्पताल पठाइएको छ र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




