बारा । प्रहरीले बाराबाट अन टेस्ट मोटरसाइकलमा ल्याउँदै गरेको २७ किलो गाँजा बरामद गरेको छ । बाराको सुवर्ण गाउँपालिका ३ बतौरा नहरस्थित चेकजाँचका क्रममा उक्त गाँजा बरामद भएको हो ।
चेकजाँचका बेला कञ्चनपुरबाट बतौरातर्फ आइरहेका एक व्यक्ति, प्रहरीले देख्नेबित्तिकै अन टेस्ट मोटरसाइकल छोडेर फरार भएका थिए । प्रहरीले मोटरसाइकलको पछाडि बाँधिएको अवस्थामा बोरा फेला पारेको थियो ।
बोराभित्र रहेको दुई पोकामा २७ किलो गाँजा फेला पारेको जानकारी बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले दिए । गाँजा बरामद गरी कानुनी प्रक्रिया अघि बढाइएको र फरार व्यक्तिको खोजी जारी रहेको उनले बताए ।




