काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको संसदको दोस्रो बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । संसदमा २४९ सांसद उपस्थित थिए । १६५ सांसदले पक्षमा मत हाले भने ८३ सांसदले विपक्षमा मत हाले । प्रस्तावकाे मत दिन्न भन्ने पक्षमा एक मात्रै मत परेकाे थियाे ।
नेकपा एमालेका माधव कुमार नेपाल र झलनाथ खनाल पक्षाका सांसद, जसपाका, नेकपा माओवादी केन्द्रका, र नेपाली कांग्रेसका सांसदले विश्वासको मत दिएका हुन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केही सांसद बाहेक अन्यले भने देउवाकाे पक्षमा मतदान गरेनन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने तटस्थ बसेको छ ।
कांग्रेसका ६१, एमालेका १२१, माओवादीका ४९, जसपाका ३२, जनमोर्चाका १, नेमकिपाका १ र राप्रपाका १ जना गरी हाल संसदमा २७१ जना सांसद छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा हाल चार जना पदमुक्त भएका छन् । थप चार जना निलम्बित छन् । उनीहरुले मत दिन नपाए पनि सांसद्को कुल संख्यामा उनीहरु समेत जोडिन्छन् ।
माधव पक्षका सांसद भीम रावलले भने राजीनामा दिइसकेका छन् । उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै उनले राजीनामाको घोषणा गरेका हुन् । आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने उनको तर्क थियो । उनले राजीनामा दिने क्रममा भनेका छन् – ‘देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु ।’
सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल अर्थात् करिब डेढ वर्ष सरकार चलाउने छन् ।






