काठमाडौं । गत वर्ष ठेक्का लगाइएको बालगङ्गा खोलामा भएको अवैध उत्खननको असर अहिले देखा परिरहेको छ । खोलाको अवैध उत्खननले पूर्वपश्चिम महेन्द्र राजमार्गको निजगढ–पथलैया सडकखण्डमा रहेको बालगङ्गा पुललाई सङ्कटमा पुर्याएको छ । पुलको पूर्वतर्फको भाग बाढीले कटान गर्दै तारजाली बगाएको छ भने पुलको जगमा समेत धक्का दिन थालेको छ ।
पुलको पिलर नजिक खोलाको सतह ६ फिट गहिरो भइसकेको छ । ठेकेदारले गत वर्ष उत्खनन गरेका स्थानहरूमा १० देखि २२ फिटसम्म खोला गहिरिएको छ । अप्राकृतिक रूपमा खोला गहिरिँदा माथिल्लो सतहमा चुरे स्खलन हुँदै ठूलो क्षेत्रफलमा वन क्षेत्र कटान भएको छ । यस वर्ष बालगङ्गा खोलाले करिब आठ हेक्टरभन्दा बढी वन क्षेत्र कटान गरेको अनुमान गरिएको छ ।
चुरेबाट पर्सा राष्ट्रिय निकुञ्जसँगै वन क्षेत्र भएर बग्ने खोलाबाट मापदण्ड विपरीत उत्खननका कारण खोला किनारसँगैको आठ हेक्टरभन्दा बढी जमीन कटान भएको छ भने पाँच दर्जनभन्दा बढी हरिया सालका रूखसमेत ढलेका छन् । नम्बरिङ गरिएका रूखहरू पनि ढल्न सक्ने अनुमान गरिएको छ ।
यो वर्ष पुनः बालगङ्गा खोलाको ठेक्का लगाइएमा खोला सोझै वन क्षेत्रभित्र पस्न सक्ने सम्भावना रहेको छ । वनजङ्गल संरक्षणमा पालिकाहरूको प्रयास कम रहेको देखिन्छ, जसले गर्दा वन क्षेत्रको तीव्र कटान र बोटविरुवाको विनाश भइरहेको छ । यस बारे प्रक्रिया अघि बढाउने आश्वासन सम्बन्धित अधिकारीहरूले दिएका छन् ।
नदी, खोला, वनजङ्गल जस्ता प्राकृतिक स्रोतहरूको संरक्षणमा सबै नागरिक र स्थानीय पालिका सचेत हुनु जरुरी छ । अवैध उत्खननविरुद्ध उजूरी दिइएपनि कारबाही नभएको गुनासो उठेको पाइन्छ ।




