काठमाडौं । अमेरिकाबाट कोभ्याक्स कार्यक्रम अन्तर्गत आएको जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप काठमाडौंमा आजदेखि लगाइँदैछ । आजदेखि ६ गते (बुधबार) सम्म निश्चित उमेर समूह र वर्गमा नागरिकलाई खोप दिइने भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा बसेको कोभिड-१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट आजदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको थियो । अमेरिकाबाट अघिल्लो सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो ।
एक डोज मात्र लगाए पुग्ने यो खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइनेछ । यस्तै पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






