वीरगञ्ज । पर्सा जिल्लाको साझेदारी वन क्षेत्रमा लगाइएको अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । सखुवा प्रसौनी गाउँपालिका १ अन्तर्गतको बडनिहार, कोइलाभार र विन्दवासनी साझेदारी वनमा पाँच विगाहा जमिनमा फैलिएको यो खेतीलाई प्रहरीले सम्पूर्ण रूपमा फडानी गरेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले करिब ३५ हजार गाँजाका बोट नष्ट गरेको जानकारी इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले दिएको छ । यसैगरी, पर्सागढी नगरपालिकाका वडा नम्बर १ गुलरिया र वडा नम्बर ३ झबराहाका १३ स्थानमा रहेको दुई विगाहा क्षेत्रफलमा फैलिएको थप १५ हजार गाँजाका बोटसमेत प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
पर्साका ग्रामीण क्षेत्रमा सामुदायिक वनसँग जोडिएका गाउँका स्थानीयहरूले वन क्षेत्रभित्र अवैध रूपमा गाँजा खेती गर्ने गरेका छन्, जसलाई नियन्त्रण गर्न प्रहरीले यस प्रकारको कारवाहीलाई तीव्र बनाएको छ ।




