काठमाडौं । कक्षा १२ को बोर्ड परीक्षा साउनमै हुने भएको छ । साउनको चौंथो हप्ता १२ परीक्षा गर्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै दुई हप्ताअघि पठाएकाे निवेदन शिक्षा मन्त्रालयले सीसीएमसी (कोभिड-१९ संकट व्यवस्थापन केन्द्र) मा पठाएकाे थियाे ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार सीसीएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको छ । यद्यपी निर्णय गरिएकाे कपि बाेर्डसम्म पुगिनसकेकाे अध्यक्ष पाैडेलले बताए । भाेलिसम्ममा आइपुग्ने उनी बताउँछन् । साउन चौथो हप्ताभित्र परीक्षा गरिने उनकाे भनाइ छ ।
बाेर्डले परीक्षा केन्द्र, मिति तोकिने र परीक्षा तालिका सार्वजनिक गर्ने तयारी समेत थालिसकेकाे छ । परीक्षा सय पूर्णांककै हुने बताइएकाे छ । सीसीएमसीको आधिकारिक निर्णय भने आउन बाँकी छ । गत जेठ २६ गते तय भएको परीक्षा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।
अघिल्लाे वर्ष बाेर्डले कक्षा १२ काे परीक्षा ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।
गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै गराउने तयारी गरेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।






