सर्लाही । सर्लाहीको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायण खोलामा राष्ट्रिय परिचय पत्र वितरणका लागि कर्मचारी पुर्याइएको छ । खोलामा बाढी आएर बस र मोटरसाइकल नचल्ने भएकाले ट्र्याक्टरमा राखेर कर्मचारी र राष्ट्रिय परिचय पत्र वितरण गर्न आवश्यक पर्ने सामाग्री त्यहाँ पुर्याइएको हो ।
नारायण खोलाको केन्द्र मोटरदोभानमा हिजो (आइतबार) पुगेका कर्मचारीले भोलि (मंगलबार) देखि विवरण संकलनको काम सुरु गर्ने वडा सचिव हस्तबहादुर रेग्मी मगरले बताए । मगरका अनुसार आइतबार दुई जना अपरेटरलाई मोटरदोभानमै राखिएको छ भने आज लालबन्दीबाट थप एक जना अपरेटर लाने तयारी भइरहेको छ ।
करिब एक हप्ता मोटरदोभानमा बस्ने शिविर त्यसपछि नारायण खोलाकै डाइनी खोलामा सारिने छ । राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्न वडाध्यक्ष सुबाई सिंह ब्लोन, वडा सचिव मगर, स्थानीय विद्यालयका प्रधानाध्यापक र अपरेटर कर्मचारी खटिने छन् ।
वडा सचिव मगरका अनुसार नारायण खोलामा नागरिकता प्राप्त गरेका झण्डैँ २५ सय जनाको राष्ट्रिय परिचय पत्र वितरणका लागि विवरण संकलन गर्ने लक्ष्य छ । नारायण खोलामा केही साताअघि व्यक्तिगत घटना दर्ता शिविर संचालन गर्दा पनि कर्मचारी र आवश्यक उपकरण ट्र्याक्टरमै हालेर लगिएको थियो ।






