सर्लाही । सर्लाहीको पोखरीमा एक कार डुबेको घटनामा दुई जनाको शव निकालिएको छ । ईश्वरपुर नगरपालिका वडा नम्बर २, मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार मंगलबार बिहान डुबेको थियो ।
उक्त कारमा सवार तीन जनामध्ये एक जना महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ का अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल बाहिर निस्किएका छन् ।
मृत फेला परेका व्यक्तिहरूमा गौशाला नगरपालिका १० का अन्दाजी ३७/३८ वर्षीय कार चालक सुरेश महतो र सोनवा गाउँपालिका ८ का ३७ वर्षीय रामाकान्त ठाकुर रहेका छन् ।
स्थानीयका अनुसार, कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयको पोखरीमा डुबेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।




