सिरहा । छठ पर्वको तेस्रो दिन आज यहाँका नदी, खोला, पोखरी तथा जलाशय किनारका छठ घाटहरू सजाउनका लागि तिव्र तयारी चलिरहेको छ । भक्तजनहरू छठको तेस्रो दिनको पूजा सम्पन्न गर्नका लागि बिहिबारसम्म घाट निर्माणको अन्तिम तयारी गर्दैछन् ।
लहानस्थित खुट्टीखोलामा छठ घाट निर्माण गर्न नगरपालिकाले निःशुल्क रूपमा जेसिबीको व्यवस्था गरेको छ । नगरपालिकाको सहयोगमा आज बिहानैदेखि छठ घाट निर्माणको काम सुरु गरिएको छ । नगरकै पहलमा वर्षभरि नदी किनारमा थुप्रिएको फोहोर पनि सफाइ गरिएको छ ।
दीपावली सकिएलगत्तै छठ पर्व सुरु भएसँगै नगरका नदी, पोखरी तथा जलाशय किनारमा छठ पूजा लक्षित सफाइमा नगरपालिकाको सफाइ टोली सक्रिय रहेको छ । सफाइ टोलीले पोखरी, नदी तथा अन्य जलाशयहरूमा विशेष सफाइ अभियान सञ्चालन गरिरहेको छ ।
सिरहा र धनुषाको सिमानामा बग्ने कमला नदी तथा सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीसहित यहाँका अन्य जलाशयहरू, जस्तै गागन खोला, मैनावती खोला, सर्रे खोला, कमला सिँचाइ नहर आदि किनारमा बाँस गाडेर छठ घाट निर्माण गर्न थालिएको छ ।
जिल्ला सदरमुकाम सिरहासहित मुख्य बजार क्षेत्रहरू जस्तै लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, कर्जन्हा र नेपाल भारत सीमा नजिकका हुलाकी बजारमा छठ पूजाका लागि केराको घरी तथा अन्य सामग्री किनमेल गर्न भक्तजनहरूको भीड बढेको छ ।
छठ पूजाका सामग्रीको मूल्य यस पटक उच्च रहेको छ । उखु प्रति लाँक्रा रु २०, नरिवल प्रतिगोटा रु ६०, भोगटे रु २०, केरा प्रतिघरी रु एक हजारसम्ममा बिक्री भइरहेको छ । विशेष सामग्री माटोको हात्तीको मूल्य रु दुई सय रहेको छ ।
यस वर्ष, छठ पूजामा प्रयोग हुने विभिन्न सामग्रीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । पहाडी क्षेत्र र कोशी प्रदेशबाट आयात गरिएको केरामा लागत बढेको कारणले गर्दा यसको मूल्य पनि महँगो भएको बताइएको छ ।
त्यस्तै, बजारमा ढकिया, नाङ्लो र कोनिया जस्ता अन्य सामग्रीको मूल्य पनि वृद्धि भएको छ, क्रमशः प्रति ढकिया रु चार सय, नाङ्लो रु तीन सय ५० र कोनिया रु एक सय ५० मा बिक्री भइरहेको छ ।




