काठमाडाैं । काेभिड १९ संक्रमणका कारण राेकिएकाे कक्षा १२ काे परीक्षा सञ्चालनबारे आज निर्णय हुँदैछ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सर्तसहित अनुमति दिएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनबारे निर्णय गर्न लागेकाे हाे ।
शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बोर्डको बैठक आज बस्न लागिएकाे जानकारी दिए । आज बेलुका ५ बजे बस्ने बैठकले परीक्षा सञ्चालनको मिति तोक्ने सम्भावना रहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए ।
यही महिनाको अन्तिम वा भदौ १ गतेदेखि परीक्षा सञ्चालनको तयारी भइरहेको छ । कक्षा १२ का विद्यार्थी भएको विद्यालयमा होम सेन्टर राखेर शतप्रतिशत परीक्षा लिने तयारी छ । परीक्षा सय पूर्णांककै हुने बताइएकाे छ । गत जेठ २६ गते तय भएको परीक्षा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।
अघिल्लाे वर्ष बाेर्डले कक्षा १२ काे परीक्षा ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।
गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै गराउने तयारी गरेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।






