जनकपुरधाम । धनुषाको नगराईन नगरपालिकामा मेयर र उपमेयरबीचको विवादका कारण चालु आर्थिक वर्षको चार महिना बित्न लाग्दा पनि नगरसभा सम्पन्न हुन सकेको छैन । मेयर नेपाली कांग्रेसका र उपमेयर नेकपा एमालेका भएपछि बजेट सञ्चालनमा देखिएको असहमति अहिले नगरपालिका नै अवरुद्ध हुने स्थितिमा पुगेको छ ।
नगरसभा नहुनुका कारण नगराईनमा विकास निर्माणका कामदेखि कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरूले समेत चालु आवमा तलब पाएका छैनन् । चाडपर्वको समयमा पनि तलब भत्ताबाट वञ्चित भएपछि कर्मचारीहरूले असन्तुष्टि जनाउँदै कात्तिक ८ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
स्थानीय तहले असार १० गतेभित्र नगरसभा सम्पन्न गर्नुपर्ने प्रावधान रहेको भएपनि मेयर र उपमेयरबीचको विवादका कारण नगराईनमा समयमै नगरसभा हुन नसक्ने समस्या दोहोरिने गरेको छ । नगरसभाको अभावले सेवा प्रवाहमा मात्रै असर परेको छैन, नगरपालिकाका कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन् ।
मेयर विनयकुमार यादवले पालिकामा प्रमुख र उपप्रमुखबीचको विवादले नगरसभा अनिश्चित बनेको स्वीकार गर्दै एमालेका बहुमत वडाध्यक्षहरूले दुई तिहाइ बहुमतको बलमा आफूलाई असफल बनाउन खोजेको आरोप लगाए ।
२०७९ मा भएको चुनावपछि पनि कानुनी असहमतिको कारण पालिका करिब नौ महिना बन्द रहेको र त्यतिबेला सर्वदलीय सहमतिमा कार्यविधि संशोधन गर्ने सम्झौता गरिएको भएपनि आजसम्म कार्यान्वयन नभएको उपमेयर पक्षको दाबी छ ।
नगराईन नगरपालिकाको १९ सदस्यीय कार्यपालिकामा एमालेका १३ जना, कांग्रेसका ५ जना र लोसपाका १ जना जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित मेयर यादव र एमालेबाट निर्वाचित उपमेयर राधादेवी यादवबीचको असहमति नगरपालिकाको सञ्चालनमा चुनौती बनेको छ ।




