जनकपुरधाम । मधेस प्रदेश सरकारले मलेसियामा हुने आगामी आइसीसी महिला यू १९ टी-२० विश्वकपमा छनोट भएका नेपाली टीमका तीन खेलाडीलाई जनही १ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ ।
मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले महिला यू-१९ टीममा मधेस प्रदेशबाट सहभागी भएका तीन खेलाडीलाई पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेका हुन् । यी तीन खेलाडीमा पुजा महतो, साना प्रविण र एलिशा कुमारी यादव रहेकी छन् ।
यसअघि, नेपाल क्रिकेट संघ (क्यान) ले पनि विश्वकपको एसिया छनोटमा विजेता बनेको नेपाली महिला टीमका सबै खेलाडीलाई जनही २ लाख ५० हजार नगद पुरस्कार दिने घोषणा गरेको थियो ।
यू-१९ महिला क्रिकेट टोलीले पहिलो पटक आइसीसी महिला यू-१९ टी-२० विश्वकपमा स्थान बनाएको छ । जनवरी १८ देखि फेब्रुअरी २, २०२५ मा मलेसियामा हुने यस प्रतियोगितामा नेपाल समूह डी अन्तर्गत अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै, यही डिसेम्बर १५ देखि १८ सम्म मलेसियामै आयोजना हुने यू-१९ एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ ।






