वीरगंज । भारत, बिहार राज्यको पश्चिमी चम्पारण जिल्लास्थित कमली थाना अन्तर्गत सुगाहा भवानीपुर, सबैठवा बहुअर्वा माइती भएकी २२ वर्षीया पिङ्कीदेवीको हत्या भएको छ । पिङ्कीको पुरान्दरा, पूर्वी चम्पारण, भेलाही थाना क्षेत्रमा बिहे भएको थियो, जहाँ गत नोभेम्बर १२ मंगलबार बिहान उनको मृत्यु भएको हो । माइती पक्षले पिङ्कीको हत्या ससुराली पक्षले दाइजोको कारण गरेको आरोप लगाएका छन् ।
पिङ्कीका मामा ललन पटेलका अनुसार, पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका १ धोरे निवासी पिङ्कीको दाइजोको कारणले ससुराली पक्षसँग तनाव थियो । शंकास्पद मृत्यु भएपनि प्रहरीले खबर नगराई शव जलाउने तयारी गरिरहेको अवस्थामा पिङ्कीका मामा र आमाबुबा पुरान्दरा गाउँ पुगेपछि गाउँमा हलचल मच्चियो । यसपछि, भेलाही थानालाई जानकारी गराई प्रहरीलाई बोलाइएको थियो ।
प्रहरीले शव नियन्त्रणमा लिएर शल्य परीक्षणको लागि मोतिहारी पठायो, र त्यसपछि दाहसंस्कार गरिएको थियो । भेलाही थानाको प्रारम्भिक अनुसन्धान अनुसार पिङ्कीका पति २६ वर्षीय मुन्ना पटेल, सासू प्रेमी देवी, ससुरा भरत पटेल, गाउँले यमुना पटेल, सागर कुमार र पतिया देवीसहित केही अन्यको संलग्नता रहेको शंका गरिएको छ ।
प्रारम्भिक तथ्यांकले देखाएको छ कि घरायसी झगडामा पिङ्कीको घाँटी थिचेर हत्या गरिएकै हो र घटना लुकाउन शव जलाउने योजना थियो ।
प्रहरीले घटनालाई शंकास्पद मान्दै शल्यपरीक्षणको अन्तिम प्रतिवेदनको प्रतिक्षा गरिरहेको छ, जसअनुसार आवश्यक कानूनी प्रक्रिया अघि बढाइनेछ ।
पिङ्कीको विवाह १८ महिनाअघि धोरेमा धार्मिक रीतिरिवाज अनुसार सम्पन्न भएको थियो । पिङ्की र मुन्नाको आठ महिनाकी एक छोरी पनि छ । मृतकका परिवारले दोषीलाई कानूनको दायरामा ल्याउन र न्याय दिलाउन माग गरेका छन् ।
मुन्ना भारतको सुरतमा रोजगारीमा कार्यरत थिए । उनले दाइजोमा सुनको सिक्री नपाएको र छोरी जन्मिएपछि पनि पिङ्कीसँग झगडा गर्ने गरेको बताइन्छ । पिङ्कीको ससुरालीसँग पनि सम्बन्ध राम्रो नभएको कुरा उनका परिवारले बताएका छन् ।




