सिरहा । सिरहाको औरही गाउँपालिका ५ की राधादेवी दासले जन्म दिएको नवजात शिशुको मृत्युको घटनाले हाल क्षेत्रको ध्यान तानेको छ । उपचारका लागि लैजाने क्रममा गत सोमबार शिशुको मृत्यु भएको थियो ।
मृतक शिशुको परिवारले सद्गत गरे पनि राधादेवीको माइतीपक्षले घटनामा शङ्का व्यक्त गर्दै उजुरी दिएपछि प्रहरी अनुसन्धान सुरु भएको हो । अनुसन्धानकै क्रममा मङ्गलबार प्रहरीको टोलीले गाडिएको शिशुको शव निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, लहान पठाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार सुत्केरीका माइतीपक्षले औपचारिक उजुरी नगरेपनि घटना बारे शङ्का जनाउँदै अनुसन्धान गर्न आग्रह गरेका थिए ।
घटना विवरण
राधादेवीलाई सिरहाको प्रादेशिक अस्पतालले गम्भीर अवस्था देखाएपछि गोलबजारस्थित बर्धमान अस्पतालमा रिफर गरिएको थियो । अस्पतालका सञ्चालक डा. तेजशङ्कर यादवका अनुसार बच्चा उल्टो अवस्थामा रहेकाले आमा र शिशु दुबैको जीवन जोखिममा थियो ।
परिवारसँग सल्लाहपछि शल्यक्रिया गरी शिशुलाई जिउँदै जन्माउन सफल भए पनि बच्चा निकै कमजोर र रोदनरहित थियो । अस्पतालले बच्चालाई भेन्टिलेटरमा राख्नु पर्ने बताएपछि परिवारले एम्बुलेन्समा लहानको सप्तऋषि अस्पताल लगेको थियो । तर, सप्तऋषि अस्पतालले शिशुलाई मृत घोषणा गरेपछि परिवारले स्थानीय गागनखोलामा अन्त्येष्टि गरेको बताइएको छ ।
राधादेवीकी सासू जलेश्वरी दासका अनुसार अस्पतालले आमाको जीवन बचाउन सफल भए पनि शिशुलाई जोगाउन नसकेकोमा परिवारले दुःख व्यक्त गरेको छ । उनले अस्पतालप्रति कुनै दोषारोपण नगरी शल्यक्रिया र उपचारमा सहयोग गरेको भन्दै आभार प्रकट गरिन् ।
विवादको कारण
अस्पताल प्रशासनका अनुसार परिवारभित्र अन्तरजातीय विवाहका कारण पुरानै तनाव थियो । यसले घटनालाई थप जटिल बनाएको हो । राधादेवीका श्रीमान् विदेशमा रहेका कारण परिवारभित्र उत्पन्न द्वन्द्वले अवस्था झनै संवेदनशील बनाएको छ ।
हालसम्मको अनुसन्धानका आधारमा अस्पताल प्रशासनले आफूले सबै प्रयास गरेको दाबी गर्दै आरोप र विवादलाई अनावश्यक भनेको छ । सुत्केरीको स्वास्थ्य अहिले सुधार भइरहेको बताइएको छ ।




