बारा । सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानूविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले शुक्रबार जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) अनुसार कानूलाई आरोप लगाइएको उल्लेख छ ।
कानूले सेवाग्राहीसँग बिल भुक्तानी गर्ने क्रममा ७८,००० रुपैयाँ घूस लिएको पुष्टि भएपछि कात्तिक ८ गते कलैया उपमहानगरपालिकाबाट अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानले घूस लिएको प्रमाणित भएपछि बिगो स्वरूप सोही रकम कायम गरी कैद र जरिवाना सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियारका अनुसार कानूले सेवाग्राहीसँग अनियमित रूपमा रकम माग्दै भ्रष्टाचार गरेको पाइएको हो । आयोगले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै कानूविरुद्ध कानूनी प्रक्रिया अघि बढाउने जनाएको छ ।




