रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका २ मा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ३२ वर्षीया दिपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
मंगलबार बिहान करिब २:३० बजे दिपाले घरेलु विवादका क्रममा चिर्पट दाउराले श्रीमानको टाउकोमा प्रहार गरी हत्या गरेको बताइएको छ । घटना बारे मृतकका छोरा खिम कुमालले प्रहरीलाई जानकारी गराएपछि प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले दिपालाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान गरिरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लैजाने तयारी भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार, घरेलु विवाद नै घटनाको प्रमुख कारण रहेको अनुमान गरिएको छ ।






