वीरगञ्ज । नारायणी अस्पतालको पाँच सय शैया स्तरोन्नतिको भवन निर्माण कार्य विगत पाँच वर्षदेखि रोकिएको छ । भवन निर्माणसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले काम अघि बढ्न नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
सङ्घीय सरकारले आर्थिक वर्ष २०७५/७६ मा नारायणी अस्पताललाई स्तरोन्नति गर्न बजेट छुट्याए पनि निर्माण प्रक्रिया सुरु भएलगत्तै विवादका कारण काम ठप्प भएको हो । डा. दासका अनुसार अस्पताल जस्तो संवेदनशील स्थानको मुद्दालाई प्राथमिकताका साथ निरुपण गर्न सर्वोच्चमा विशेष अनुरोध गरिने छ ।
सर्वोच्चले यो मुद्दाको पेसी आगामी माघ २८ गतेका लागि तोकेको छ । विवाद वीरगञ्जस्थित सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सन प्रा.लि./नेशनल डेभलपमेन्ट इञ्जिनियरिङ बीच रहेको छ ।




