महोत्तरी । महोत्तरीको प्रादेशिक अस्पतालमा चिकित्सक अभावका कारण सेवा प्रभावित भएको छ । तीन जना डाक्टरहरूले सामूहिक राजीनामा दिएपछि अस्पतालमा उपचार सेवामा गडबडी आएको हो ।
राजीनामा दिएका डाक्टरहरूले तलब र भत्ता लगायत सुविधामा अनियमितता र बेवास्ताका कारण राजीनामा दिएको जानकारी दिएका छन् । अस्पताल व्यवस्थापन समितिको उपेक्षाका कारण स्थानीय समुदायले आलोचना गरेका छन् ।
अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी आउने भएपनि विशेषज्ञ डाक्टरको अभावमा बिरामीहरूलाई उचित उपचार पाउन कठिनाइ भएको छ । जलेश्वर २ का एक स्थानीयले विशेषज्ञ डाक्टरको अभावले उपचारमा समस्या आएको बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभातकुमार गामीले तीन जना डाक्टरको राजीनामापछि सेवा प्रभावित भएको स्वीकार गर्दै समस्या समाधानतर्फ पहल गरिरहेको जानकारी दिए ।
उनले अस्पताल व्यवस्थापन समिति, मधेस सरकार र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताए । साथै, राजीनामा गरेका डाक्टरलाई असारसम्मको तलब भत्ता लिएर काममा फर्कन र बाँकी रकम चाँडो व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।




