वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले आफ्नो सरुवा रोक्न दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्धको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासले आइतवार निर्णय सुनाउँदै रिट खारेज गरेको हो ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्धको अदालतको अवहेलना सम्बन्धी अर्को रिटमा पनि मागदाबी नपुगेको भन्दै सर्वोच्चले खारेज गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन ३ गते काफ्लेको काज फिर्ता गर्दै चेतकुमार पोखरेललाई जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाउने निर्णय गरेको थियो ।
सो निर्णयविरुद्ध काफ्लेले सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् । त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भदौ २७ गते रिक्त सहसचिवको दरबन्दीमा मन्त्रालयका सहसचिव वीरेन्द्रदेव भारतीलाई पठाउने निर्णय गरेको थियो । यस निर्णयविरुद्ध पनि काफ्लेले अदालतको अवहेलना दाबी गर्दै रिट दर्ता गरेकी थिइन् ।
न्यायाधीश फुयाँल र ढकालको संयुक्त इजलासले सो रिट पनि खारेज गरेको छ । सर्वोच्चको निर्णयसँगै जीतपुरसिमरामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका लागि बाटो खुलेको छ भने काफ्लेले कार्यालय छोड्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णय अनुसार सम्भवतः सहसचिव भारतीलाई पुनः दरबन्दीमा पठाइने अनुमान गरिएको छ ।




