बारा । विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गतेदेखि बारा जिल्लाको बरियारपुरमा सुरु भएको छ । पञ्चवर्षीय गढीमाई मेलालाई भव्य र व्यवस्थित बनाउन मुख्य समिति र विभिन्न उपसमितिहरू सक्रिय रूपमा कार्यरत छन् ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख तथा मेला मूल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले मेलाका लागि मास्टर प्लान तयार पारिएको र सबै व्यवस्थापन योजनाबद्ध रूपमा अघि बढाइएको जानकारी दिए । मनोरञ्जन क्षेत्र, खुद्रा पसल, र अन्य सेवाहरूको स्थान निर्धारण अनुगमन उपसमितिको निरीक्षणपछि मात्र हुने उनले बताए ।
दैनिक लाखौं दर्शनार्थीको सहभागिता
मेलामा दैनिक लाखौं दर्शनार्थीको भीड बढ्दै गइरहेको छ । व्यवस्थित व्यवस्थापनका लागि समिति र उपसमितिहरूले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् । अनुगमन उपसमितिका संयोजक दीपप्रकाश गुप्ताका अनुसार, पसलहरूलाई तोकिएको प्रयोजनबाहेक अन्य सामग्री बिक्री गर्न नदिने र नियम उल्लंघन गर्नेहरूमाथि कारबाही गरिने छ ।
निःशुल्क स्वास्थ्य शिविर संचालन
मेलामा स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नेपाल मिडिसिटी अस्पताल र फुलकुमारी महतो मेमोरियल अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिरहेका छन् । नेपाल मिडिसिटी अस्पतालका डाइरेक्टर विजय रिमालका अनुसार, शिविरमा २४ घण्टा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको टोली उपलब्ध हुनेछ ।
पञ्चवर्षीय गढीमाई मेलाले धार्मिक, सांस्कृतिक, र पर्यटकीय महत्वका कारण विश्वभरि चर्चा पाउने गरेको छ । समितिले मेलालाई भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने जनाएको छ ।




