रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित डिभिजन वन कार्यालय अन्तर्गतको सशस्त्र वन सुरक्षा गस्ती टोलीले अवैध सालको काठसहित पिकअप भ्यान बरामद गरेको छ । भ्यानका चालकलाई समेत पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।
धन्सार सव-डिभिजन पोष्टका रेन्जर विकास लामिछानेको नेतृत्वमा गस्ती टोलीले बिहिबार राति महेन्द्र राजमार्गको धन्सार पुलदेखि २ किलोमिटर पूर्व लच्कामा ८५.५ क्युफिट अवैध सालको काठ लोड गरिएको ना २ च ९३१९ नम्बरको बोलेरो पिकअप बरामद गरेको हो ।
डिभिजन वन प्रमुख हेमन्तकुमार साहका अनुसार काठसहित पिकअपका चालक जितेन्द्र चौधरीलाई पक्राउ गरिएको छ । उनले भने, ‘काठ कहाँबाट ल्याइएको हो भन्ने बारे सोधपुछ भइरहेको छ । सवारी धनी र तस्करका नाइकेहरूको खोजी पनि जारी छ ।’




