सिरहा । मिर्चैया नगरपालिका ५ स्थित बजार क्षेत्रमा आइतबार खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको घटनाको छानबिन गरिने भएको छ । यस सम्बन्धमा सोमबार तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
महिलाको मृत्यु बारे अनुसन्धानका लागि पूर्वाधार कार्यालय, इलाका प्रहरी कार्यालय, र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू सम्मिलित समिति गठन गरिएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न समय सीमा तोकिएको छ ।
नगरपालिका कार्यालय नजिकै नालाका लागि खनेर अलपत्र छाडिएको खाल्डोमा जमेको पानीमा चिप्लिएर लडेपछि डुबेर महिलाको मृत्यु भएको थियो । मृतकका आफन्तले सरकारी निकाय र ठेकेदारको लापरबाहीलाई दोष दिँदै छानबिन समिति गठनको माग गरेका थिए ।
नगरपालिकाले खाल्डो संघीय सरकार अन्तर्गतको योजनाको कारण खनिएको दाबी गरेको छ । त्यस्तै, सहरी विकास मन्त्रालयअन्तर्गतको एक कार्यालयले पनि खाल्डो खनेको जिम्मेवारी अस्वीकार गरेको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन समिति सक्रिय हुने जनाइएको छ ।




