सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिकामा कार्यरत एक नायब सुब्बा (नासु) जागिर लगाइदिने बहानामा ठगी गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीको अनुसन्धानमा उनले ६ लाख ३३ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।
पक्राउ परेका नासु यशोदानन्द भिन्डवारले पर्साका राजकुमार चौधरीलाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सहायक वैज्ञानिक पदमा जागिर लगाइदिने आश्वासन दिएका थिए ।
बेरोजगार रहेका चौधरीलाई पहुँच रहेको भन्दै विभिन्न समयमा गरी सो रकम ठगी गरेको बताइएको छ । भिन्डवारविरुद्ध ठगीको मुद्दा दायर गरिएको छ । ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तले उनलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रहरीले जागिरका नाममा हुने ठगीबाट सतर्क रहन नागरिकलाई आग्रह गर्दै यस्तो गतिविधिमा संलग्नलाई कारबाही प्रक्रिया निरन्तर जारी राख्ने बताएको छ ।




