रौतहट । रौतहटमा रासायनिक मलको कालोबजारीले किसानलाई कठिनाइ उत्पन्न गरेको छ । गहुँको बीउ छर्न आवश्यक युरिया र डीएपी मल तोकिएको मूल्यभन्दा धेरै महँगोमा बिक्री भइरहेको छ ।
ग्रामीण क्षेत्रका बजारहरूमा एक हजार पर्ने युरिया मल १२ सयदेखि १४ सय रुपैयाँमा र २५ सय पर्ने डीएपी ३४ सयदेखि ३५ सय रुपैयाँसम्म बिक्री भइरहेको किसानहरूले बताएका छन् ।
किसानहरूले स्थानीय निकाय र सम्बन्धित निकायहरूले मल उपलब्ध गराउन ध्यान नदिएको गुनासो गरेका छन् । सहकारीहरूबाट अनुदानमा उपलब्ध मल किसानलाई नदिई व्यापारीसँग महँगोमा बिक्री भइरहेको उनीहरूको दाबी छ ।
मल र दैनिक उपभोग्य वस्तुको कालोबजारी रोक्नका लागि बजार अनुगमन गरी दोषीमाथि कडा कारबाही गर्न किसानहरूले माग गरेका छन् । स्थानीय प्रशासनले पनि कालोबजारी छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।




