बारा । बाराको पञ्चवर्षीय गढीमाई मेलाले होटल व्यवसायीहरूको आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ । मेलामा साना र ठूला गरी करिब ५० होटलले अस्थायी रूपमा सेवा दिएका छन्, जसले केही सातामै लाखौं रुपैयाँ मुनाफा कमाएको अनुमान छ ।
पर्सा जिल्लाका जानकी टोलाका व्यवसायी सन्तोष पटेलका अनुसार, उनको सानो होटलले साताभित्र झन्डै डेढ लाख रुपैयाँ मुनाफा कमाएको छ । ठूला होटलहरूले भने एक सातामा ५ लाखदेखि १० लाख रुपैयाँसम्म कमाएको मेला समितिले जनाएको छ ।
मेलामा सादा खाना, खाजा, माछा मासु र मदिराको बिक्री उच्च रह्यो । खाना प्रतिप्लेट रु १५०, चिकेन खाना रु २५०, मटन खाना रु ३५० र तारेको माछा प्रतिथान रु ६० मा बिक्री गरियो । मदिराको मूल्य भने नियमित भन्दा १.५ देखि २ गुणा बढी थियो ।
मङ्सिर २० देखि दर्शनार्थीहरूको भीड बढेसँगै होटल व्यवसायले तीव्रता पायो । मेलाको मुख्य अवधि मङ्सिर २१ देखि २५ सम्म अत्यधिक मागले गर्दा गढीमाई क्षेत्रका साथै वरपरका बजारहरूमा हरियो तरकारी, माछा र मासुको अभाव सिर्जना भयो । बरियारपुर, गंजभवानीपुर र कलैया बजारमा माछा मासुको मूल्य आकासियो ।
पसलेहरूले कुखुराको मासु प्रतिकिलो रु ६००, माछा रु ५७० र खसीको मासु रु १४०० मा स्थानीय बजारबाट खरीद गर्नुपर्यो । कतिपय व्यवसायीहरूले वीरगंजबाट माछा मासु ल्याएर आपूर्ति गरेका थिए । अत्यधिक मागका कारण पसलेहरूलाई आवश्यक आपूर्ति व्यवस्थापन गर्न कठिनाइ भएको मेला समितिले जनाएको छ ।




