रौतहट । रौतहट जिल्लाको विभिन्न गाउँमा देखिने परम्परागत बाँस भकारी लोप हुने जोखिममा छ । अन्न भण्डारणका लागि पहिले लोकप्रिय बाँसबाट निर्मित भकारीको उपयोग अहिले निकै कम हुन थालेको छ ।
बजारमा आयातित भण्डारण सामग्री सजिलै उपलब्ध हुन थालेका कारण परम्परागत भकारी लोप हुने अवस्थामा पुगेको छ । टिकाउ, हलुका र देख्नमा आकर्षक आधुनिक भण्डारणका साधनहरूको प्रचलनले बाँस भकारी प्रतिको आकर्षण घटेको स्थानीयले बताएका छन् ।
परम्परागत बाँस भकारी वर्षौंसम्म अन्न सुरक्षित राख्न उपयुक्त मानिन्छ । वातावरणमैत्री र आर्थिक रूपमा किफायती भएपनि आधुनिकताको दौडमा यसको उपयोग घट्दै गएको छ ।
परोहा नगरपालिका १ जीङदवाका धेरै घरमा पहिले प्रत्येक परिवारले बाँसको भकारी बनाउने र प्रयोग गर्ने गर्थे । तर अहिले यसको प्रयोग नगण्य भएको स्थानीय बताउँछन् ।
स्थानीय संस्कृति र परम्पराको प्रतीक बाँस भकारी लोप हुनबाट जोगाउन सरकार, गैरसरकारी संस्था र स्थानीय तहले संरक्षणका लागि विशेष योजना बनाउनु पर्ने आवश्यकता रहेको छ । अन्यथा, यो परम्परा केवल स्मृतिमा सीमित हुनेछ ।




