कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ४ शान्तिपुरस्थित उखुबारीमा भेटिएको बर्मी जातको वयस्क अजिङ्गरको उद्धार गरिएको छ । अजिङ्गर १३ फिट लामो र ३१.५८ किलोग्राम तौलको थियो । उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेपछि वन सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार गरी अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको छ ।
यो प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला जनावरहरूलाई आहारा बनाउने गर्दछ । सुक्खा जङ्गल, पहाड, खुला घाँसे मैदान र खेतबारीमा बासस्थान बनाउने यी अजिङ्गरको आयु २० वर्षभन्दा बढी हुने विज्ञहरू बताउँछन् । समुन्द्री सतहदेखि १०० मिटरदेखि २,५०० मिटर उचाइमा यस्ता अजिङ्गर पाइन्छन् ।




