वीरगंज । आर्थिक संकटका कारण बैंकले घर लिलामी गरेपछि एक परिवार घरबारविहीन भएको छ । लुम्बिनी विकास बैंक, पोखरिया शाखाले वीरगंज महानगरपालिका ११ निवासी राज साह सोनारको घर लिलामी गरेपछि उनकी पत्नी बबिता सोनार दुई छोरीसहित आत्मदाहको प्रयासमा उत्रिएकी छन् ।
२०७४ सालमा राज साहले पोखरियाको बरियारबिर्तामा रहेको चार कट्ठा जग्गा र रानीघाटको १० धुर जग्गासहितको दुई तले घर धितो राखेर ३७ लाख रुपैयाँ ऋण लिएका थिए । तर, २०७७ सालमा दम्पतीबीच विवाद भएपछि राज बेपत्ता भएका थिए ।
शनिबार, बैंकका कर्मचारी, खरीदकर्ताहरू र वडाका प्रतिनिधिहरू घर खाली गराउन पुगेपछि बबिता तनावमा परिन् । आफू र छोरीहरूको पालनपोषणमा समस्या भइरहेको बताउँदै उनले घर अगाडि आत्मदाह गर्ने प्रयास गरेकी थिइन् ।
प्रहरी र स्थानीय बासिन्दाले समयमै हस्तक्षेप गरेर बबितालाई रोक्न सफल भए । बबिताले बैंकले परिवारको अवस्थालाई बेवास्ता गरी घर लिलामी गरेर उनीहरूलाई सडकमा पुर्याएको आरोप लगाइन् ।
स्थानीयबासीका अनुसार सोनार परिवारको सम्पत्तिको वास्तविक मूल्य दुई करोड रुपैयाँ हाराहारीमा भएपनि बैंकले ५२ लाख रुपैयाँमा लिलामी गरेको छ । लिलामी प्रक्रिया परिवारलाई जानकारी नदिई गरिएकाले यसमा मिलेमतो भएको शंका गरिएको छ ।
घटनापछि बबिताले न्यायको माग गरेकी छन् । स्थानीयहरूले बैंकको निर्णय प्रति आक्रोश व्यक्त गर्दै लिलामी प्रक्रियामा पुनः छानबिन गर्न आग्रह गरेका छन् ।




