रौतहट । रौतहटको राजपुर नगरपालिका ३ मुंताज चोकस्थित सडकमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । फतुवा पुलबाट पोखरिया टोलतर्फ जाँदै गरेको बीआर ३० के ७३५२ नम्बरको मोटरसाइकल बुधबार राति अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका ३ का २२ वर्षीय अजगर अलीको ज्यान गएको छ । गम्भीर घाइते भएका अलीलाई तत्कालै प्रादेशिक अस्पताल गौरमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक व्यक्ति घाइते भएका छन् । उनको बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




