वीरगंज । बहुदरमाई नगरपालिकास्थित नेरामावि डोकैला बहुअरीका विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरी लाखौं मूल्य बराबरको क्षति पुर्याएका छन् ।
सामुदायिक विद्यालयका विद्यार्थीहरूले दोस्रो त्रैमासिक परीक्षा समयमा शुरू नभएको भन्दै बिहीबारदेखि आन्दोलन गर्दै आएका थिए । शुक्रबार बिहान १० बजे छलफलका लागि तय भएको बैठक अघि नै उनीहरूले नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरे ।
नगरप्रमुख सिंगासन साहले यो घटना विद्यार्थीहरूलाई शिक्षक र कर्मचारीले उक्साएको कारण भएको आरोप लगाएका छन् । “केही शिक्षकको उक्साहटमा विद्यार्थीहरूले यस्तो हिंसात्मक गतिविधि गरे,” नगरप्रमुख साहले भने ।
विद्यार्थीहरूले नगरपालिकाका अधिकांश कक्षमा रहेका फर्निचरमा आगजनी गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाको कक्ष बाहेक अन्य कक्षका सामग्रीमा पूर्ण क्षति पुगेको स्रोतले जनाएको छ । घटनामा संलग्न एक विद्यार्थीलाई इलाका प्रहरी कार्यालय, पोखरियाले पक्राउ गरेको छ ।
नगरपालिका भित्रको विवादको असर
बहुदरमाई नगरपालिकाभित्रको प्रशासनिक विवादले समस्यालाई थप बल दिएको छ । नगरप्रमुख सिंगासन साह, उपप्रमुख सुषमा कुशवाहा र प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाबीच लामो समयदेखि विवाद चलिरहेको छ ।
विवादका कारण निर्धारित समयमा नगरसभा सम्पन्न हुन सकेको थिएन । दशैंपछि मात्र नगरसभा सञ्चालन भएपनि स्वास्थ्यकर्मीहरूको परीक्षाको नतीजा सार्वजनिक भएपछि नगरप्रमुख र प्रशासकीय अधिकृतबीच तनाव बढेको थियो ।
नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग पहल गरिरहेको बताएका छन् । उनले आर्थिक गतिविधि ठप्प हुनु र विकास निर्माणका कार्य अवरुद्ध हुनुमा प्रशासकीय अधिकृतको गैरजिम्मेवारीपूर्ण व्यवहारलाई दोष दिएका छन् ।
विद्यालयहरूको परीक्षा समयमै सञ्चालन भएन
बहुदरमाई नगरपालिकाअन्तर्गत रहेका १८ सामुदायिक विद्यालयमध्ये बिहीबारसम्म एक मात्र विद्यालयले दोस्रो त्रैमासिक परीक्षाको तालिका प्रकाशन गरेको थियो । परीक्षामा ढिलाइ र प्रशासनिक विवादले विद्यार्थीहरूमा असन्तुष्टि बढेको थियो ।
नगरपालिकाका कर्मचारी, शिक्षक र ठेकेदारहरूले तलब र भुक्तानी नपाएपछि विकास निर्माणका कार्य ठप्प छन् । नगरप्रमुख र प्रशासकीय अधिकृतबीचको विवाद समाधान नहुँदासम्म नगरपालिकाको आर्थिक गतिविधि सञ्चालनमा आउन नसक्ने अवस्था रहेको छ ।
प्रशासकीय अधिकृत शेरे मुस्तुफाको मोबाइल अफ रहेकाले उनको तर्फबाट कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।




