कैलाली । लागूऔषध मुद्दामा अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिन्छु भनी रकम लिने कार्यमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरूमा गौरीगंगा नगरपालिका ७ का २९ वर्षीय रूपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूले हिरासतमा रहेका एक थुनुवाका परिवारबाट रकम लिएको खुलेको छ । थुनामुक्त गरिदिने बहानामा परिवारबाट रकम असुली गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट ३९ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।




