बारा । बारा जिल्लामा गएराति प्रहरीका भान्सेलाई गोली प्रहार गरी हत्या गरिएको छ । सिमरा विमानस्थलस्थित अस्थायी प्रहरी चौकीमा भान्सेको रूपमा कार्यरत जीतपुरसिमरा उपमहानगरपालिका १, सुकुमबासी टोल निवासी राजकुमार रूम्बाको हत्या भएको हो ।
रूम्बालाई हिजो राति करिब साढे १० बजे वडा नं. ११, आमाडार र रमौली जाने बाटोमा कारभित्र गोली हानिएको थियो । बाग्मती प्रदेशको ०१–०२८ च ७६१६ नम्बरको नेटा कम्पनीको इभी कारभित्र चालक सिटमा रहेका रूम्बा मृत अवस्थामा फेला परेका थिए ।
बारा प्रहरीले प्रारम्भिक अनुसन्धानबाट रूम्बालाई कारमा सवार व्यक्तिले गोली हानेको पत्ता लगाएको छ । तर, कारमा सवार अन्य व्यक्तिहरूको पहिचान अझै खुल्न सकेको छैन ।
घटनास्थलबाट केही प्रारम्भिक प्रमाण संकलन गरिएपनि हत्याको कारण र हत्याराको पहिचान खुलाउन अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
घटनाले स्थानीय क्षेत्रमा त्रास उत्पन्न गरेको छ भने प्रहरीको टोली हत्याराको खोजीका लागि परिचालन गरिएको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको बारा प्रहरीले जनाएको छ ।




