सप्तरी । राज्यको विभेदकारी व्यवहार र जनकपुर बोल्ट्सका समर्थकमाथि भएको कुटपिटको विरोधमा सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार सप्तरीमा टायर बालेर प्रदर्शन गरेको छ । जनमत पार्टीका कन्चनरूप नगरपालिकाका युवाहरूले सडकमा टायर बाल्दै एक घण्टासम्म प्रदर्शन गरी सडक अवरुद्ध पारेका थिए ।
पार्टीले राज्यको नश्लवादी विभेदको विरोध र नेपाल प्रिमियर लिग (एनपीएल) का क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको अपमानजनक र विभेदकारी व्यवहारको निन्दा गर्दै प्रदर्शन गरेको हो ।
सिके राउतको सचिवालयले प्रदर्शनको भिडिओ सार्वजनिक गर्दै, जनकपुर बोल्ट्सलाई लक्षित गर्दै गरिएको आक्रमण र प्रयोग गरिएका अपमानजनक शब्दहरूको विरोधमा यस्तो कदम चालिएको जनाएको छ ।
जनमत पार्टीले विभेद र अपमानको विरुद्धमा कडा कदम चाल्ने चेतावनी दिँदै राज्यलाई समान व्यवहारको सुनिश्चितताका लागि आग्रह गरेको छ । प्रदर्शनले स्थानीय यातायात प्रभावित भएको र प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको जनाएको छ ।




