रौतहट । विवादास्पद विषयहरूमा निरन्तर घेरिएको कटहरिया नगरपालिकामा मेयरद्वारा करोडौं रुपैयाँ अनियमितता गर्ने प्रयास भएको भन्दै जनप्रतिनिधिहरूले कार्यालयमा पुनः तालाबन्दी गरेका छन् । उपमेयर रिता देवी यादवको नेतृत्वमा मंगलबार दिउँसो कर्मचारीलाई बाहिर निकाल्दै जनप्रतिनिधिहरूले नगरपालिकाको मुख्य कार्यालयका महत्त्वपूर्ण शाखाहरूमा तालाबन्दी गरेका हुन् ।
जनप्रतिनिधिहरूले मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी मिलेर नगरको बजेट दुरुपयोग गर्न खोजेको आरोप लगाएका छन् । उपमेयर यादवका अनुसार, गत मंसिर २० गते बसेको नगर कार्यपालिका बैठकमा करारका कर्मचारीहरूको नियुक्ति र ईलाका प्रहरी कार्यालयका लागि बजेट विनियोजन सम्बन्धी प्रस्तावमा सहमति हुन नसकेपछि बैठक स्थगित गरिएको थियो । तर, बैठकमा निर्णय भएको नाटक गर्दै प्रमुख प्रशासकीय अधिकृत जोशीले निर्णय पुस्तिकामा हस्ताक्षर गराउने प्रयास गरिरहेको यादवले बताइन् ।
मेयर र अधिकृत अनुपस्थित
जनप्रतिनिधिहरूको आरोप अनुसार, पुस ८ गते पुनः बैठक आह्वान गरिए पनि मेयर जैसवाल र प्रमुख प्रशासकीय अधिकृत जोशी कार्यालयमा अनुपस्थित रहे । उपमेयर यादवले फोन सम्पर्क गर्दा उनीहरूले ूबाहिर छुू भन्दै जवाफ दिएका थिए ।
रातारात निर्णय गराउने प्रयास
तालाबन्दी पछि सञ्चारकर्मीहरूसँगको संवादमा वडा अध्यक्षहरूले मेयर जैसवालको निर्देशनमा अधिकृत जोशीले रातारात कार्यपालिका सदस्यहरूको घरमा पुगेर हस्ताक्षर गराउने प्रयास गरेको खुलासा गरेका छन् । कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले मेयरले प्रलोभन देखाएर सदस्यहरूलाई हस्ताक्षर गराउन खोजिरहेको आरोप लगाए ।
कर्मचारीको तलब नदिई बर्खास्ती
कटहरिया नगरपालिकामा झन्डै ५० जना करारका कर्मचारी २० महिनादेखि तलबविहीन छन् । तर, तलब दिनुको सट्टा मेयर जैसवालले उनीहरूलाई बिना सल्लाह एकै पटक बर्खास्त गरेको जनप्रतिनिधिहरूले गुनासो गरेका छन् । कर्मचारी भर्नामा आर्थिक अनियमितता गर्नकै लागि यस्तो कदम चालिएको उनीहरूको आरोप छ ।
तालाबन्दी जारी रहने चेतावनी
जनप्रतिनिधिहरूले गत मंसिर २० गतेको विवादास्पद निर्णय बदर नभएसम्म तालाबन्दी जारी राख्ने अडान राखेका छन् । उनीहरूले बर्खास्त गरिएका कर्मचारीहरूको तलब दिएपछि मात्र नयाँ भर्ना प्रक्रिया अघि बढाउनु पर्ने माग समेत गरेका छन् ।
तालाबन्दीमा उपमेयर यादवसँगै कटहरिया १ का वडा अध्यक्ष भूपेन्द्र महतो, वडा २ का हरेन्द्र साह, वडा ४ का चन्दन कुशवाहा, वडा ५ का सर्फलाल गुप्ता, वडा ६ का जयराम चौधरी, वडा ७ का महमद सहिद र वडा सदस्य रामेश्वर यादव लगायतको उपस्थिति रहेको थियो ।
कटहरिया नगरपालिकाको वर्तमान नेतृत्व २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएको थियो । मेयर जैसवाल र उपमेयर यादवकै कार्यकालमा यस्ता विवादहरू बारम्बार उठेका छन् ।




