सिरहा । मधेश प्रदेश सरकारले सवारी साधनको कर र जरिवानामा शतप्रतिशत छुट दिने निर्णय गरेको छ । यो निर्णय मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ अन्तर्गत गरिएको हो, जसलाई गत मङ्सिर १९ गते प्रदेश राजपत्रमा प्रकाशित गरिएको थियो ।
श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृत सुनिलकुमार शाहले जारी गरेको सूचनामा यस निर्णयको जानकारी दिइएको छ । सूचनाका अनुसार ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा लाग्ने कर र जरिवानामा पूर्ण छुट दिइने छ ।
यस्तै, यातायात व्यवस्था कार्यालय लहान, सिरहाले पनि यस सम्बन्धी सूचना जारी गरेको छ । कार्यालयका वरिष्ठ शाखा अधिकृत विनीतकुमार झाले जारी गरेको सूचनामा ऐनको दफा ३४ को उपदफा ४ बमोजिम, म्याद नाघेको सवारीसाधन दर्ता प्रमाणपत्र नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा शतप्रतिशत छुट प्रदान गरिने उल्लेख छ ।
यस निर्णयले मधेश प्रदेशका सवारी साधन मालिकहरूलाई राहत मिल्ने विश्वास गरिएको छ । साथै, प्रदेशभित्र सवारी दर्ता र नवीकरण प्रक्रियामा नागरिकको सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।




