वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सका सदस्य आसिफ शेख र सुदूरपश्चिम रोयल्सका सदस्य आरिफ शेखलाई उनीहरूको गृहजिल्ला पर्सामा नगदसहित प्रशंसा पत्रले सम्मान गरिएको छ ।
वीरगञ्ज महानगरपालिका १२, मुर्ली नयाँ टोलका शेख दाजुभाइ हालै सम्पन्न एनपीएल क्रिकेटमा फरक फरक टिमबाट सहभागी भएका थिए । वीरगञ्ज १० कार्यालयद्वारा आयोजित कार्यक्रममा दुवै खेलाडीलाई जनही ५१ हजार रुपैयाँ नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।
कार्यक्रममा वीरगञ्ज १० का वडाध्यक्ष सुशील साह कानुले वीरगञ्जको प्रतिनिधित्व गर्दै दुवै खेलाडीले एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेर वीरगञ्जको नाम गौरवान्वित गरेको बताए । उनले दुवै खेलाडीलाई अझ ठूलो सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दै वीरगञ्जलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।
जनकपुर बोल्ट्सका खेलाडी आसिफ शेखले सम्मानले खेलाडीलाई थप उत्साह प्रदान गर्ने बताए । त्यस्तै, सुदूरपश्चिम रोयल्सका खेलाडी आरिफ शेखले खेलकुदमा अझ उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा वीरगञ्जवासी खेल प्रेमी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । यस सम्मानले वीरगञ्जका खेलाडीहरूलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिएको छ ।






