रौतहट । फतुवा विजयपुर नगरपालिका ८ विजयपुर टोलमा उँखुको परालमा लागेको आगो फैलिएर विद्यालयमा आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नरेन्द्र साहको खेतमा रहेको उँखुको परालमा बिहीबार साँझ आगो लागेको थियो । आगो फैलिएर नजिकै रहेको ओम साईबाबा इङ्गलिस बोर्डिङ स्कुलमा क्षति पुगेको हो । आगलागीका कारण विद्यालयका बत्ती बोर्ड, पङ्खा र ५६ वटा बेन्च पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
आगो नियन्त्रणका लागि स्थानीयबासी र दमकलले प्रयास गरेपनि ठूलो धनमालको क्षति भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




