काठमाडौं । नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति महोत्तरी जलेश्वर नगरपालिका २ हरिटोलका स्थायी बासिन्दा ३० वर्षीय जितेन्द्र मण्डल उर्फ डा। आलोक हुन्, जो ललितपुर महानगरपालिका १७ ग्वार्कोमा बस्दै आएका थिए ।
मण्डलले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितसँग सम्पर्क गरी आफू डाक्टर भएको झुटो परिचय दिएका थिए । उनले सुगर रोगको उपचारको बहाना गर्दै पीडितलाई औषधि खुवाई बेहोस बनाएको र कोठामा रहेका सुन, चाँदीका गरगहनासहित नगद ३ लाख रुपैयाँ चोरी गरेका थिए ।
घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको टोलीले उनलाई नुवाकोट पञ्चकन्या गाउँपालिका ४ आरूखर्कबाट पक्राउ गरेको हो ।
पक्राउ पछि मण्डलको साथबाट नगद ५९ हजार ३६० रुपैयाँ र तीन थान मोबाइल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । मण्डललाई चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटोमा पठाइएको छ ।




