बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेपाल प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न रहेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतसहित तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दीका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी, बारा जितपुर सिमरा उपमहानगरपालिका १९ घर भई जय माँ इन्जियरिङ वर्कसपका सञ्चालक २७ वर्षका पुरुषोत्तम कुमार दास र २० वर्षका इन्द्रजित कुमार चौहान रहेका छन् ।
गत पुस ६ गते जितपुर सिमरा उपमहानगरपालिका ११ स्थित बकुलिया देखि रमौली लोसन्डा जाने सडक खण्डको छेउमा रुम्बाको शव कारमा भेटिएको थियो । पोस्टमार्टम रिपोर्ट अनुसार रुम्बाको टाउकोमा गोली हानी हत्या गरिएको पाइएको छ ।
अनुसन्धानका क्रममा, मृतक रुम्बाले घाँटीमा लगाएको सुनको सिक्री र झोलाबाट उनका पर्स बरामद गरिएको छ । साथै, वर्कसप सञ्चालक दासको वर्कसपबाट रुम्बाको सामानहरू फेला परेका छन् ।
प्रहरीले घटनामा पूर्व रिसइबी र लुटपाटको कारण हत्या भएको जनाएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको छ ।




