सर्लाही । नयाँरोड सडकखण्डमा गएराति उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । बरहथवा नगरपालिका ९ शान्ति चोकमा ज १ त ९८७६ नम्बरको ट्रयाक्टर हरिवनतर्फ आउँदै गर्दा नयाँरोडबाट बरहथवा जाँदै गरेको ज ४ प ३७७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार बरहथवा ५, राजुचोकका हरिन्द्र महतो र पुरुषोत्तम दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
हरिन्द्र महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र पुरुषोत्तम दासको वीरगञ्जको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले बताए ।
घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ । यस दुःखद घटनाले सर्लाहीका स्थानीयहरूमा शोकको वातावरण छाएको छ ।




