काठमाडौं । विशेष अदालतले हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकायालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ वर्ष कैद सजाय, ९ लाख ७५ हजार रुपैयाँ असुलउपर र सोही बराबर जरिवानाको फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई तथा रामबहादुर थापाको इजलासले मंगलबार सुनाएको फैसलामा रोकायाले परिवारका सदस्यहरूको नाममा कृषि फर्म स्थापना गरी अनुदान दुरुपयोग गरेको प्रमाणित भएको उल्लेख छ ।
बदनियतपूर्वक अनुदान दुरुपयोग
अदालतले जारी गरेको फैसलामा भनिएको छ, “कृष्ण रोकायाले आफ्नै परिवारका सदस्य सम्मिलित उपभोक्ता समिति गठन गरी निजी नाममा कृषि फार्म दर्ता गरी प्रतिस्पर्धामा छनोट हुने गरी मापदण्ड बनाई कृषि अनुदान लिएको पाइएको छ । उनले स्वार्थ बाझिने गरी सुनियोजित रूपमा आफ्नै फर्मलाई अनुदान प्राप्त गर्न भूमिका खेलेका छन् ।”
गाउँपालिकाका प्रशासकीय अधिकृत पनि दोषी
अदालतले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै रोकायासँगै २ वर्ष कैद र ९ लाख ७५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
अन्य दोषीहरू
भ्रष्टाचारमा संलग्न रहेको ठहर गर्दै हंश रोकाया, सेतु रोकाया र तुलराज रोकायालाई १ वर्ष कैद र ४ लाख ८७ हजार रुपैयाँ जरिवानाको फैसला गरिएको छ ।
सफाइ पाउनेहरू
गाउँपालिकाकी उपाध्यक्ष जोसी धामी, इन्जिनियर रामराज शाही र लेखापालहरू पूर्ण प्रसाद आचार्य तथा पदमबहादुर धामीलाई भने अदालतले आरोपबाट सफाइ दिएको छ । विशेष अदालतको यो फैसला पछि स्थानीय निकायमा भ्रष्टाचारका घटनामा कठोर कानूनी कारबाहीको सन्देश गएको बताइएको छ ।






