रौतहट । रौतहटको पश्चिमीभेग फतुवा विजयपुर नगरपालिका स्थित गएराती युवाहरुले मोबाइल लोकेशनको आधारमा ४ जना चोरलाई पक्राउ गरेका छन् । घटनाको समय प्रहरीले सहयोग नगरेको युवाहरुले गुनासो गरेका छन् ।
दिनभरी गाउँ गाउँ घुमेर भिक माग्ने र राती राती चोरी गर्ने गिरोह (घुमन्ते) गिरोहका ४ चोरलाई युवाहरुले पक्राउ गरी ईलाका प्रहरी कार्यालय विजयपुरलाई बुझाएका छन् । चोरलाई पछ्याई रहँदा ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले सहयोग नगरेको युवाहरुले गुनासो गरेका छन् ।
फतुवा विजयपुर ६ पेटभर्वा गाउँका अच्छेलाल साहको घरमा बुधबार राती करिब १२ बजेको समयमा चोरहरूले सुरुङ खनेर घरभित्र रहेको पाँच वटा मोबाइल गरगहना र नगद २ लाखसहित ५ लाख बढीको सामान चोरेर लागेका थिए ।
पीडित परिवारले फोन गरेर इलाका प्रहरी कार्यालय सन्तपुरमा जानकारी गराउँदा कुनै वास्ता नगरेपछि गाउँको युवाहरूले चोरी भएको मोबाइलको लोकेसनको आधारमा पछ्याउँदै गएका थिए ।
खोजी गर्दै जाँदा फतुवा गाउँछेउको मठ नजिक ४ जना चोरलाई युवाहरुले समातेका थिए । चोरहरुको साथबाट चोरी भएको मोबाइलहरू गरगहना, नगद बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुरमा जानकारी गराउँदा त्यहाँबाट गएको टोली चारै जना चोरलाई बुझाएको स्थानीयहरू समाजसेवी राजकिशोर साहले बताएका छन् ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले घटनाको पुष्टी गरेका छन् । प्रवक्ता रायका अनुसार सुनको गरगहना, नगद र मोबाइल गरी जम्मा ८ लाख बराबरको सामानहरु चोरी गरी लगेको खबरको आधारमा आज बिहान साढे ३ बजे इप्रका विजयपुरबाट सई ज्ञानेन्द्र कुमार ढकालको कमाण्डमा ९ जनाको टोलीले आरोपी ४ जनालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा मागीखाई जस्तो देखिने स्थायी ठेगाना नखुलेका वर्ष ६५ का रामायण नट, वर्ष ६० का लक्ष्मण नट, वर्ष ३५ का मनोज नट र वर्ष ३४ का सुनिल नट रहेको उनले बताए । उनीहरू बसेकै ठाउँबाट सानो मोबाइल ९किप्याड० थान ६, ठुलो मोबाइल (टच स्क्रिन) थान ३ र चार्जर थान ३ समेत फेला परेको डिएसपी रायले जानकारी दिए ।
आरोपी चारै जना चोरहरु ईलाका प्रहरी कार्यालय विजयपुर नियन्त्रणमा लिएको घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आरोपहरु केही समयदेखि फतुवा विजयपुर ७ फतुवा गाउँ छेउमा त्रिपाल टाँगेर सपरिवार बस्दै आएका थिए । घरका महिला पुरुष दिनभरि गाउँ गाउँ घुमेर भिख माग्ने गरेका थिए ।
चारै जना चोर गाउँ गाउँमा घुमेर मागेर खाँदै हिँडेका घुमन्ते गिरोहका रहेको स्थानीयहरूले बताएका छन् । घुमन्तेहरुले यसरी चोरी गरेको यो पहिलो घटना होइन । यसअघि पनि यस्ता समूह कैयौं पटक चोरीको घटनामा समातिएका छन् ।




