सिरहा । लहानदेखि उत्तरतर्फ पर्ने चुरेक्षेत्र आसपासका सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । विशेष गरी जाडो याममा यी क्षेत्र वनभोज र घुमफिरका लागि लोकप्रिय भएका छन् । लहानबाट सात किलोमिटर उत्तरतर्फ चुरे फेदीमा रहेको ‘हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र’मा वनभोज खान र घुम्न आउनेहरूको भीड लाग्न थालेको छ ।
‘कोइरालो खोला नमूना सामुदायिक वन’भित्रको यो सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी इको टुरिजम प्रवर्द्धन गरिएपछि यहाँ आगन्तुकहरूको संख्या बढेको हो । झन्डै पाँच हेक्टर क्षेत्रमा फैलिएको यस सिमसार क्षेत्रमा बाह्रै महिना पानी भरिने चार वटा पोखरी, वनभोजस्थल र आकर्षक उद्यान रहेका छन् ।
सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोत्तरी लगायत छिमेकी राष्ट्र भारतबाट समेत सर्वसाधारण यहाँ आउने गरेका छन् । सार्वजनिक बिदाका दिन यहाँ झन्डै २० समूह वनभोजका लागि आउँछन् भने अन्य दिन पाँच समूहको हाराहारीमा आउने गरेका छन् ।
लहान क्षेत्रका अन्य पर्यटकीय गन्तव्य, जस्तै सलहेश फूलबारी, मानिकदह, गोसाइँडाँडा ताल र देवीदह सिमसार क्षेत्रमा पनि आगन्तुकहरूको भीड लाग्ने गरेको छ । चुरे क्षेत्रका सिमसारहरूको संरक्षणमा स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समूहहरूले चासो देखाएका छन् । पर्यटकीय क्षेत्रको भौतिक विकासलाई उच्च प्राथमिकतामा राखेर पूर्वाधार विकास भइरहेको छ ।
यी सिमसार क्षेत्रले धार्मिक स्थलहरू, वनस्पति, जीवजन्तु, र पशुपक्षीको प्राकृतिक वासस्थानको रूपमा पर्यटक, अध्ययन र अनुसन्धानकर्ताहरूलाई आकर्षित गरिरहेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा यहाँ घुम्न र वनभोज खान आउनेहरूको उल्लेख्य उपस्थिति देखियो ।




