वीरगन्ज । पर्सा, बारा, रौतहट लगायत मधेस प्रदेशका जिल्लाहरूमा चिसो तीव्र रूपमा बढिरहेको छ । पछिल्लो तीन चार दिनयता बिहानैदेखि बाक्लो कुहिरो लाग्ने क्रम जारी छ, जसले जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको छ ।
चिसो र हुस्सुको कारणले बिहान र बेलुकाको समय अत्यन्तै कठोर भएको स्थानीय बासिन्दाहरूले बताएका छन् । चिसोले सबै उमेर समूहलाई प्रभावित पारेको छ । विशेष गरी बालबालिका, युवा र वृद्धहरू चिसोबाट बढी प्रभावित भएका छन् ।
चिसोबाट जोगिन स्थानीयहरूले घुर ताप्न थालेका छन् । सामान्य परिवारदेखि विपन्न वर्गसम्म बिहान र बेलुका आगो तापेर जाडो निवारण गर्ने गरेका छन् । चिसोका कारण बिहान घर बाहिर निस्कन समेत समस्या हुने गरेको छ ।
स्कूल जाने स-साना बालबालिकाको पठन पाठनमा समेत चिसोले गम्भीर असर पारेको छ । बिहान बाक्लो कुहिरोका कारण स्कुल जाने बाटो देख्न समेत कठिन भएको छ । कुहिरो र हुस्सुका कारण सवारी चलाउन अप्ठेरो भएको छ, जसले दुर्घटनाको सम्भावना बढाएको छ ।
यद्यपि दिउँसोको समय केही बेर घाम लागेपनि बिहान र बेलुका बाक्लो कुहिरोले ढाकिने हुँदा बजार क्षेत्रको चहलपहल घटेको छ । चिसोले गर्दा स्थानीय व्यवसाय र जनजीवन थप कठिन भएको छ ।
सरकार र स्थानीय निकायहरूले यस चिसोमा प्रभावित वर्गको लागि राहत तथा सहयोगको योजना बनाउनु आवश्यक देखिएको छ । मधेसका मानिसहरूले चिसोबाट जोगिन थप सतर्कता अपनाउनु पर्ने सुझाव समेत व्यक्त गरेका छन् ।




