सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीहरू तह वृद्धि प्रक्रियामा ढिलासुस्ती भएको भन्दै अनिश्चितकालीन धर्नामा बसेका छन् । गत शुक्रबारदेखि पेन डाउन आन्दोलन शुरू गरेका उनीहरूले तह वृद्धि प्रक्रियामा तत्काल समाधानको माग गरेका छन् ।
मधेस प्रदेशले २०८१ भदौ ७ गते जारी गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन–२०८१ अनुसार, स्थानीय तहले योग्यता पुगेका कर्मचारीहरूको तह वृद्धि गर्न सक्ने प्रावधान छ । तर, जीतपुरसिमरा उपमहानगरपालिकाले सो सम्बन्धी नीति निर्माण गर्न ढिलासुस्ती गरेको भन्दै २९ जना सहायक पाँचौं तहका र एक जना अधिकृत नवौं तहका गरी ३० जना कर्मचारी धर्नामा बसेका हुन् ।
उपमहानगरपालिकाले २०८१ कात्तिक ३० गते तह वृद्धि गर्न आवेदन माग गर्दै सूचना सार्वजनिक गरेको थियो । कर्मचारीहरूले सोही अनुसार आवेदन दिएका भएपनि पुस महीना बित्न लाग्दा तह वृद्धि बारे कुनै चासो नदेखाएको आरोप लगाएका छन् ।
ज्ञापनपत्र बुझाउँदै समाधानको माग
कर्मचारीहरूले २०८१ पुस १९ गते नगरप्रमुख र उपप्रमुखसमक्ष ज्ञापनपत्र बुझाउँदै समस्याको छिटो समाधान गर्न माग गरेका छन् । प्रदेशका अन्य स्थानीय तहहरूले कर्मचारीहरूको तह वृद्धि प्रक्रियालाई अगाडि बढाए पनि जीतपुरसिमरामा ढिलासुस्ती हुँदा कर्मचारीहरू अन्य पालिकाका सहकर्मीभन्दा पछि परेका छन् ।
कर्मचारीहरूको गुनासो
उपमहानगरपालिकाले आवश्यक नीति निर्माण नगर्दा कर्मचारीको वृत्ति विकासमा अवरोध भएको गुनासो छ । उनीहरूले पालिकाले ऐन अनुसार हरेक पुस र असार महीनामा तह वृद्धि प्रक्रिया अगाडि बढाउनुपर्नेमा ढिलाइ गरेको भन्दै असन्तोष व्यक्त गरेका छन् ।
तत्काल समाधानको माग
कर्मचारीहरूले तह वृद्धि प्रक्रियामा देखिएको अवरोध हटाउँदै समस्याको यथाशीघ्र समाधान गर्न नगरप्रमुख र उपप्रमुखलाई आग्रह गरेका छन् । समाधान नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।




