वीरगंज । सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवको गृह जिल्लामा निर्माण गरिएका करिब आधा दर्जन खानेपानी टङ्की अझै सञ्चालनमा आउन सकेका छैनन् । निर्माण कार्य पुरा भएपनि यी खानेपानी परियोजनाहरूको अनुगमन र सञ्चालनका लागि मन्त्री यादवले कुनै पहल नगरेको पाइएको छ ।
पर्सा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित र पटक पटक मन्त्री भएका यादव हाल सङ्घीय खानेपानी मन्त्रीका रूपमा कार्यरत छन्, तर आफ्नो गृह जिल्लामा निर्माण गरिएका खानेपानी टङ्कीहरूको अवस्था जाँच्न र सञ्चालनमा ल्याउन कुनै पहल गरेका छैनन् ।
पर्साका सोलखपुर, बडनिहार, मनवा, रङ्गपुर, सेढवा, महुवन र ठोरी लगायतका स्थानमा करोडौं रुपैयाँको लागतमा निर्माण गरिएका आधा दर्जनभन्दा बढी खानेपानी टङ्कीहरू लामो समयदेखि सञ्चालनमा नआएपछि यी भौतिक संरचनाहरू जीर्ण हुँदै गएका छन् ।
सोलखपुर, बडनिहार र मनवामा निर्माण भएका टङ्कीहरू समयमा सञ्चालनमा ल्याउन नसकिएपछि, ती स्थानका भौतिक संरचनाहरू हाल जीर्ण अवस्थामा पुगेका छन् ।
बडनिहारमा शौचालय र मूलगेट तोडफोड भएका छन् भने मनवामा बनेको पूर्वाधार अहिले पशुचौपाया र मादक पदार्थ सेवन गर्ने स्थलको रूपमा परिणत भएको छ । यी स्थलहरूको संरक्षणका लागि स्थानीय पालिकाले पनि कुनै ठोस कदम चालेका छैनन् ।
यसको परिणाम स्वरूप, समयमै सञ्चालनमा नआएको कारण सरकारको करोडौं लगानी खेर गइरहेको स्थानीयवासीहरूको भनाइ छ । धाराबाट दिनभरि पानी आउँदा पनि रोकथामको व्यवस्था नगरेका कारण पानी पनि खेर गइरहेको छ ।
स्थानीयवासी र विश्लेषकहरूले खानेपानी टङ्कीहरूको यथाशीघ्र सञ्चालनमा ल्याउन र संरचनाहरूको संरक्षणका लागि सरकार र मन्त्रीको तत्परता आवश्यक रहेको बताएका छन् ।




