सप्तरी । प्रहरीले सप्तरीको बलानविहुल गाउँपालिका १ बलानपट्टीस्थित एक खेतबाट परालले छोपेर राखिएको अवस्थामा ६७० केजी गाँजा बरामद गरेको छ । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार साँझ उक्त गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त गाँजा सार्वजनिक गरेको छ । प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार, गाँजा तस्करीका लागि २४ वटा प्लास्टिकका प्याकेट बनाई परालमुनी लुकाइएको अवस्थामा फेला परेको थियो ।
गोप्य सूचनाको आधारमा प्रहरी चौकी मौवाहाका प्रहरी सहायक निरीक्षक हेमन्त तामाङको नेतृत्वमा खटिएको टोलीले गाँजा बरामद गरेको हो । घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि सप्तरी प्रहरीले गत मंसिर ३ गते राजगढ गाउँपालिका १ स्थित हुलाकी सडक खण्डमा बालुवा र गिट्टीले छोपेर टिपरमा लुकाइएको १,७१७ केजी गाँजा बरामद गरेको थियो ।
प्रहरीका अनुसार लागुऔषधको तस्करीमा संलग्न गिरोहले नयाँ–नयाँ शैली अपनाउन थालेका छन् । तस्करीलाई नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाही थप प्रभावकारी बनाएको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिए ।
कुशल प्रहरीलाई सम्मान
आइतबारकै दिन जिल्ला प्रहरी कार्यालय सप्तरीले गाँजा बरामदगी तथा उत्कृष्ट सेवा प्रदान गरेको भन्दै चार जना प्रहरी कर्मचारीलाई नगद र कदरपत्रबाट सम्मान गरेको छ ।
सम्मानित हुनेमा प्रहरी सहायक निरीक्षक हेमन्त तामाङ, प्रहरी वरिष्ठ हवल्दार राजकुमार महतो, प्रहरी जवान अर्जुन कुमार साह र मुकेश राय छन् । तिनले आफ्नो क्षेत्रको कार्य सम्पादनमा देखाएको कुशलताको कदर गर्दै पुरस्कृत गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताए ।




